तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने

सिन्धुपाल्चोक । यसबर्ष पनि मेलम्ची ९ गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गुफा डाँडामा जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । वातावरण जोगाऔँ पृथ्वीलाई बचाऔँ भन्ने नाराका साथ काठमाडौँबाट साइकल यात्रा गरेर जलवायु दिवस मनाउन लागिएको तामाङको भनाइ छ । 

आउँदो पुस १७ गते काठमाडौँबाट मेलम्ची–९ गुफा डाँडा सम्म साइकल यात्रा गरी दिवसको सुरुवात गरिने छ । साथै सो अवसरमा सिन्धुपाल्चोक जिल्लाबाट हालसम्म विद्यावारिधि गर्नेहरूलाई समेत सम्मान गरिने कार्यक्रम छ । सोही दिन बेलुका मेलम्चीमा साइकल यात्री र विद्यावारिधि गरेर सम्मानित भएकाहरुबीच अन्तर्क्रिया कार्यक्रम रहेको समेत तामाङले बताउनुभयो । 

स्थानीय तहका जनप्रतिनिधि र जलवायु सम्बन्धी विज्ञहरूको सुझावका आधारमा जलवायु अनुकूलन सम्बन्धी विशेष योजना समेत सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने तामाङले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गत वर्षहरूमा पनि जलवायु दिवस मनाउदै आएको थियो । त्यसैलाई जलवायु दिवसका रूपमा मनाउन लागिएको तामाङको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button