तपाईँ सुन्दै हुनुहुन्छः

उत्सव बन्दै योमरी पुन्ही

तनहुँ । नेवार समुदायको पर्व योमरी पुन्ही सकिएको भोलिपल्ट सोमबार तनहुँको दुलेगौँडामा विशेष कार्यक्रम आयोजना गरियो । मुख्य पर्वका दिनमा घरमै चाड मनाएका नेवार समुदायले अर्को दिन संस्कृतिको जगेर्ना गर्न फेरी योमरी पुन्ही विशेष कार्यक्रम आयोजना गरेका हुन् । 

प्रत्येक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिनमा मनाउने योमरी पुन्हीलाई विशेष उत्सवकै रूपमा बनाउने प्रयास यहाँका नेवार समुदाय छन् । वर्ष दिन खेतबारीमा व्यस्त भएर भित्राइएको अन्नबाली भकारीमा थन्काएपछिको खुशीयाली र जाडोबाट बच्ने शक्ति प्राप्त गर्ने विश्वास साथ बनाइएको विशेष परिकार खाने दिनलाई यो समुदायले उत्सवको रूपमा मनाउन थालेका हुन् ।

केही वर्ष अगाडिसम्म घर घरमा योमरी (मनपर्ने रोटी) बनाएर खाने प्रचलन रहेपनि पछिल्लो पुस्ताले योमरीको महत्त्व बिर्सिँदै जान थालेपछि सामूहिक रूपमा कार्यक्रम गरेर योमरी पुन्ही मनाउन थालिएको छ । 

अरिदेव नेवा पुच सेवा कोषका सांस्कृतिक कार्यक्रम संयोजक श्यामकृष्ण मल्लले योमरी पुन्हीको मौलिकतालाई जगेर्ना गर्न सामूहिक रूपमा कार्यक्रम गर्ने गरेको बताउनुभयो । ‘यसरी कार्यक्रम हुँदा नजानेकाले जान्ने र जान्नेले पनि सिकाउन पाउने भएपछि संस्कृतिको संरक्षण हुने भयो’, मल्लले भने, ‘अव तालिम नै सञ्चालन गरेर योमरी बनाउन सिकाउने तयारी छौ ।’

अरिदेव नेवा मिसा पुचमा आबद्ध महिलाहरूले आयोजना गरेको योमरी पुन्ही विशेष कार्यक्रममा शुक्लागण्डकी नगरपालिका –४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष श्रेष्ठले पछिल्लो पुस्तामा नेवार समुदायका संस्कृतिको हस्तान्तरण हुन नसक्दा लोपको सङ्घारमा पुगेको बताउनुभयो ।

अरिदेव नेवा मिसा पुचकी अध्यक्ष ईश्वरीमाया कायस्थले समयको परिवर्तन र आधुनिकताको प्रभावले जातीय मौलिकता ओझेलमा पर्न थालेको सुनाउनुभयो । ‘गाउँघरमा संस्कृति संरक्षण गर्न केही गर्न नै पर्दैनथ्यो, बजार तिर झरेपछि संस्कृति पनि मासिँदै जान थाल्यो’, कायस्थले भन्नुभयो ‘नयाँ पुस्तालाई सिकाउन कार्यक्रमको आयोजना गरेका हौँ ।’ उहाँले संस्कृति जगेर्नाका लागि यस्ता कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास  व्यक्त गर्नुभयो ।

कार्यक्रममा तनहुँ नेवा खलका निवर्तमान अध्यक्ष डिलबहादुर श्रेष्ठ, बेलचौतारा मिस पुचकी अध्यक्ष केशावती श्रेष्ठ, अरिदेव नेवा पुच सेवा कोषका कार्यवाहक अध्यक्ष रुद्रकुमार श्रेष्ठ, अरिदेव नेवा मिसा पुचकी उपाध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठ, सचिव शोभा श्रेष्ठ लगायतले बोलेका थिए । उनीहरूले वर्षमा एक पटक गरिने सामूहिक कार्यक्रममा नेवार समुदायको एकतालाई बलियो बनाउने बताएका थिए ।

योमरी पुन्ही पर्वको भोलिपल्ट सोमबार सामूहिक रूपमा योमरी बनाएर संयुक्त भोज आयोजना गरेका नेवार समुदायले सामुदायिक एकताको सन्देश समेत दिएका थिए । योमरी पुन्हीको दिनमा घर घरमा चाड मनाएको उनीहरूले भोलि पल्ट चाड नमनाएका र मनाउन नजानेकाहरूलाई समेत सहभागी गराएर उत्सव मनाएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button