तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा सामुदायिक आँखा अस्पतालको सेवा ग्रामीण क्षेत्रमा विस्तार

मकवानपुर । हेटौँडामा रहेको हेटौँडा सामुदायिक आँखा अस्पतालले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ । 

२०६५ सालमा स्थापना भएको आँखा अस्पतालले मकवानपुरका ग्रामीण क्षेत्रका नागरिकलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ शुक्रवारबाट जिल्लाको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याएको हो । 

ग्रामीण क्षेत्रमा सेवा सुविधा विस्तार गर्दै नागरिकलाई सेवा पुर्‍याउने लक्ष्य अनुसार शुक्रवारबाट मकवानपुरको पूर्वी बागमती गाउँपालिकामा आँखा केन्द्र सञ्चालनमा ल्याएको हेटौँडा सामुदायिक आँखा अस्पतालका अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बताउनुभयो । 

उपचारको अभाव तथा आँखाको रोगको पहिचान र उपचार गर्न नसकी बस्नुपरेको नागरिकलाई गाउँमै सहज उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ शुक्रवारबाट बागमती गाउँपालिकामा सेवा विस्तार गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रवार सामुदायिक आँखा केन्द्र उद्घाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरूलाई हेटौँडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताउनु भयो ।

आँखा केन्द्र स्थापनाका लागि गाउँपालिकाले भवन र दुई जना कर्मचारीको व्यवस्थापन गरेको छ भने, तिलगंगा आँखा प्रतिष्ठानले उपकरण सहयोग गरेको छ । बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एक जना नेत्र सहायक र एक जना सहयोगी कर्मचारीको मासिक तलब खर्चबापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्ने छ । 

तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो । केन्द्रमा शुक्रवारदेखि नै आँखा जाँच कार्यक्रम सुरु भएको छ । 

उद्घाटनको दिन शुक्रवार ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने श्रेष्ठले बताउनुभयो । 

प्रतिष्ठानले यसअघि ग्रामीण क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ मकवानपुरको थाहा नगरपालिकामा सेवा बिस्तार गरिसकेको छ भने मनहरी गाउँपालिकामा केही दिनमै सेवा बिस्तार गरिने समेत उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button