तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेडिकेटेड डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्नेलगायतका विषयका समस्या समाधान गर्न विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

छलफलमा सहभागी गृह सचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या अविलम्ब समाधान गर्न निर्देशन दिनुभयो । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धी मन्त्रीको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिनुभयो ।

त्यस्तै गृहमन्त्री खाँणले गैर आवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिनुभयो । गृह सचिव पाण्डेले अरेबिया, साइप्रसलगायतका मुलुकमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button