तपाईँ सुन्दै हुनुहुन्छः

टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न सुरु

 

कञ्चनपुर  । कञ्चनपुर जिल्लामा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न सुरु गरेको छ ।

कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७ सय ५२ का दरले खरिद गर्न सुरु गरेको छ । 

गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७ सय५२, मध्यम धानको रु दुई हजार ९सय २ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ ।

सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न लागेको हो । 

कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रवार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । 

हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । 

डेढ सय क्विन्टलको हाराहारीमा फ्रेस (गुणस्तरयुक्त) धान खरिद गरिएको जनाइएको छ  । 
केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उहाँले बताउनुभयो ।

कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । 

कम्पनीको शाखा कार्यालयलाई छ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । धान धेरै आए निर्धारण गरिएको कोटा बढ्न सक्ने निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाई छ ।
 भीमदत्त नगरपालिका क्षेत्रका थोरै किसानले मात्रै कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्न थालेका छन् । 

कम्पनीका निमित्त शाखा प्रमुख उपाध्यायका अनुसार विगतका वर्ष जस्तो धान बिक्रीका लागि पुग्ने किसानको घुइँचो यस वर्ष लागेको छैन । बेमौसमी वर्षाका कारण किसानले काटेको धान पूरै क्षति हुँदा धान बिक्री गर्ने किसान घटेका हुन् ।

कञ्चनपुरमा ४८ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिक टन धानमा क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button