नेपाली कांग्रेसको १४ औं महाधिवेशन : महामन्त्रीको मनगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिनुभयो ।आज बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला गरी मतगणना प्रारम्भ गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा गणना सुरु भएको दुई तीन घण्टाभित्रै आउनेछ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् ।
निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो ।
सोमबारको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसक्नुभएको छ ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्