मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता
क्वालालम्पुर । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।घटनामा परेका अरू २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।
अचानक खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरूको खोजीका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ । सामुद्रिक मार्ग अवैध रूपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।
घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरूले अरू २० पुरुष र दुई महिलालाई भने जीवितै उद्धार गरेका छन् । बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरूले बताएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्