तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले थुपारेको बालुवा नहटाउँदा बाली लगाउन समस्या

कञ्चनपुर । कञ्चनपुरमा कार्तिक पहिलो साता आएको वर्षका कारण दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी प्रभावितहरूले गहुँ समेत छर्न सकेका छैनन् । 

महाकाली र जगबुडा नदीमा आएको बाढीले वडा नं. १० का कुतियावकर, शान्ति टोल, बैतिफाँटा, सुर्खेत टोल, गुरुङ टोल, अठार नम्बर पिल्लरलगायत बस्तीमा खेतबारीमा थुपारेको बालुवा नहटाउँदा गहुँ खेती गर्न सकिएको छैन । 

दोधारा चाँदनी नगरपालिकाका धेरै जसो खेतीयोग्य जमिन बगर बनिसकेको अवस्था छ । भारतीयसँग सीमा जोडिएको बस्तीमा आएको विनाशकारी बाढीले लाखौँको धनमालको क्षति गरेको थियो । 

बाढीले खेतीयोग्य जग्गा बालुवा थुपारिदिएपछि अबका दिनहरूमा के खाने भन्ने चिन्ताले सताएको स्थानीयवासी मोहन सुनारले बताउनुभयो । बस्तीको खेतीयोग्य जग्गामा बाढीको बालुवाले पुरिदिएपछि यस पटक खेती लगाउन नपाएको उहाँको भनाई रहेको छ । 

महाकाली र जगबुडा नदीमा आएको बाढीले बगाएर ल्याएको रुख, दाउरा बस्तीमा थुपारिदिएको उहाँले बताउनुभयो । 

“बाढीको बेला मेरो वडामा मात्रै ९ सय घरपरिवार प्रभावित बन्न पुग्यो” दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नरबहादुर सुनारले भन्नुभयो । 

उहाँले खेतमा बाढीले थुपारिदिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताउनुभयो । बाढी पीडितहरूलाई तत्कालको लागि राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य तथा गैर खाद्य सामग्री वितरण कार्य भइसकेको उहाँको भनाई रहेको छ । 

दोधारा चाँदनी नगरपालिकाको भौगोलिक बिकट मानिने दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को १८ नम्बर पिल्लर बस्ती, कुतियाकवर, बैतिफाँटा, शान्ति टोललगायत बस्तीका स्थानीयहरू खेतीपाती र भारतीय सीमावर्ती बजार क्षेत्रमा ज्याला मजुरी गरेर जीविका चलाउँदै आएका छन् भने कयौँ स्थानीयहरूको छाक टार्ने बाटो नै खेतीपाती नै हो । अहिले आएर उनीहरूको जग्गामा बालुवा थुपारिदिएपछि खेती गर्नबाट वञ्चित भएका छन् । उनीहरू बिहान साँझ खेतमा हेरेर दिन काट्न थालेका छन् । 

सङ्घ–संस्था तथा व्यक्तिबाट सहयोग पाएको भए पनि सरकार पक्षले किसानहरूको बाढीले बिगारेको खेतीयोग्य जग्गा तथा तटबन्धको बारेमा कुनै कार्य नगरेको उनीहरूको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button