तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सदस्य मात्र चयन गर्दै सकियो माओवादीको कर्णाली प्रदेश सम्मेलन

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णालीको प्रथम प्रदेश सम्मेलन प्रदेश कमिटी सदस्य घोषणा गर्दै सम्पन्न भएको छ । 

शनिवार देखि सुरु भएको सम्मेलनले नेतृत्व चयनमा सकस भएपछि दुई दिन ढिला गरी मङ्गलवार साँझमात्र सदस्य मात्र चयन गरी सम्पन्न भएको हो । 

माओवादीले २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेर पनि पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन । घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहितका ९ पदाधिकारी चयनका लागि नवनिर्वाचित सदस्यहरूको बैठक बसी रहेको प्रदेश सदस्य निम बहादुर केसीले जानकारी दिए  । 

छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने उनको भनाई छ  । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

अध्यक्षमा पूर्व मन्त्री विमला केसी र कर्ण बहादुर बुढाथोकीको दाबी 

यसअघि अध्यक्षको दाबी गरेका महेन्द्र बहादुर शाही, वर्तमान अध्यक्ष राज कुमार शर्मा, टेक बहादुर बस्नेत, रामदिप आचार्य, लगायतका नेताहरू भने अध्यक्षको रिङबाट आउट भएका छन् । केन्द्रीय सदस्यहरू प्रदेश पदाधिकारीमा बस्न नपाउने प्रावधान बनाएसँगै यस अघि अध्यक्षमा दाबी गरेका नेताहरू स्वतः आउट भएका हुन ।

 केन्द्रीय सदस्य पदाधिकारी आउन नपाउने भएपछि अध्यक्षमा सल्यानका कर्ण बहादुर बुढाथोकी र रुकुम पश्चिमबाट विमला केसीको दाबी रहेको छ । बुढाथोकी सल्यानका जिल्ला इन्चार्ज हुन भने केसी कर्णाली प्रदेशको पूर्व मन्त्री हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button