तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली लालपुर्जा बनाई जग्गा हत्याउने भूमाफियाको योजना असफल

रुपन्देही । रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिगाहा जग्गा कब्जा गर्ने भूमाफियाको योजना असफल भएको छ । नक्कली लालपुर्जा बनाएर वनको जग्गा व्यक्तिको नाममा गराउने भूमाफियाको गिरोहलाई अदालतले असफल बनाइदिएको हो । 

२६ वर्ष पहिलेदेखि व्यक्तिले दाबी गर्दै आएको शंकरनगर सामुदायिक वनको ८२ बिगाहा जग्गा अदालतले वनकै भएको फैसला गरेपछि भूमाफियाको योजना असफल भएको हो । वनको पक्षमा अदालतले फैसला गरेपछि शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र वनका उपभोक्ता समूहले अदालतको फैसलालाई स्वागत गर्दै गरेको छ । लामो समय मुद्दा लडे पनि अदालतले वनको पक्षमा निर्णय गरेपछि आम उपभोक्ता खुशी भएको बताउनुहुन्छ उपभोक्ता तारा ज्ञवाली ।  

भूमाफियाले हडप्न लागेको वनको नाममा दर्ता भएको जग्गा अदालतले वनकै हो भनेर फैसला गर्दिएपछि वनलाई हराभरा बनाउने गरी कार्यक्रम गरिने शंकरनगर सामुदायिक वनका अध्यक्ष रवीन्द्र बस्नेतले बताउनुभयो । 

अदालतको निर्णय आम नागरिकको हितमा भएकाले अब अक्सिजन उत्पादन हुने गरी कार्यक्रम गरिने र उपभोक्तालाई काठ, दाउरा र घाँस उपलब्ध गराइने अध्यक्ष बस्नेतले बताउनुभयो । 

वनको  ५ सय ३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कट्ठा १० धुर जग्गा हडप्नका लागि ७२ जनाको नाममा नक्कली लालपुर्जा बनाई भूमाफियाको गिरोहले हडप्ने प्रयास गरेको थियो । सर्वोच्च अदालतले पछिल्लो पटक २०७६ सालमा दुवै पक्षको रोहबरमा विवादित जग्गाको नक्सा र नापजांचको काम गर्न पुनरावेदन अदालतलाई आदेश दिएपछि सोही अनुसार गत मङ्सिर १२ गते जग्गाको पुनः नक्सांकनसमेत भएको थियो । पुनःनक्सांकन र नापजांच हुँदा उक्त जग्गामा कुनै आबादी नभएको, तिरोभरो नचलेको, ७२ जनाको नाममा दर्ता भएको प्रमाण नपुगेको भन्दै अदालतले सामुदायिक वनको पक्षमा फैसला गरेको हो । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश अच्युतप्रसाद भण्डारी र सुदर्शनदेव भट्टको संयुक्त इजलासले  विवादित जग्गा वन क्षेत्रकै भएको अन्तिम फैसला गरेको थियो । उक्त मुद्दामा सामुदायिक वनको तर्फबाट सरकारी वकिल कार्यालय बुटवलका प्रमुख मोहनसागर बस्याल, वरिष्ठ अधिवक्ताहरू कमलराज जोशी, गोपाल पाण्डे, अधिवक्ताहरू खुमकान्त पौडेल र लेखनाथ ढकालले बहस गर्नुभएको थियो । विपक्षी स्व. नारायणप्रसाद सापकोटाको तर्फबाट अधिवक्ता गोकर्णसिंह थापाले बहस गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button