१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सुनसरी । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरको ५६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्ययतामा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आज आयोजित एक विशेष कार्यक्रमका बीच ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले व्यावसायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालिम केन्द्रले ५६ औँ वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई शुभकामना दिनु भएको छ ।
कार्यक्रममा बोल्दै बि.सी.ले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरूको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम् भूमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी सङ्गठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समयानुकूल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात् मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा सङ्गठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने बताउनु भयो ।
यसैगरी प्रहरी नायव महानिरीक्षक बि.सी.ले वार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटबल, भलिबल, टेवलटेनिस र ब्याडमिन्टन खेलका विजय हुने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमलाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकूल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने व्यावसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरू समेत गरी कुल ७८ हजार ४ सय १२ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो ।
वार्षिक उत्सव कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती सङ्घकी अध्यक्ष चारु कोइराला बि.सी. तथा पदाधिकारीहरू, र प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्