बेलडाँडीमा जङ्गली हात्तीको आतङ्क, प्रशासनद्वारा अनुगमन

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा पछिल्लो समय जङ्गली हात्तीले निकै आतङ्क मच्चाइ रहेको छ । गए राती बेलडाँडी गाउँपालिका वडा नं.२ मा जङ्गली हात्तीको आक्रमणमा परि एक जना घाइते भएका छन् ।
करिब राती १ बजेको समयमा जङ्गली हात्तीको बथान गाउँमा पसी राम बहादुर बोगटीको घर भत्काइ पूर्ण रूपमा क्षति पुर्याउनुका साथै उनकी ४५ वर्षीय श्रीमती राधा देवी बोगटीलाई घाइते बनाएको छ । उनी सुतेकै बेला हात्तीले घर फाल्दा भाग्न खोज्दा घाइते भएकी हुन् ।
घरमा भण्डारण गरेर राखेको अन्नबाली समेत नष्ट गरेको छ । वर्ष भरी खानको लागि भण्डारण गरेर राखेको अन्नबाली सबै सखाप पारेको पीडित बोगटीले बताउनुभयो ।
उहाँका अनुसार हात्तीले अन्नबाली नाश गरिदिँदा भोकमरी निम्तिको भन्दै दुखेको पोखेका छन् । हिजो मात्र हात्तीको आक्रमणले ढक्का शिविरका एक जनाले ज्यान गुमाउनु परेको थियो ।
आतङ्क मच्चाएको ठाउँमा प्रशासनद्वारा अनुगमन
लगातार कञ्चनपुरको दक्षिणी क्षेत्रमा जङ्गली जनावरको आतङ्क बढेपछि स्थानीय सरकार र कञ्चनपुर प्रशासन लगायतको टोलीले हात्तीले आतङ्क मच्चाएको ठाउँको अनुगमन गरेको छन् ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको नेतृत्वमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी कार्यालय प्रमुख, जिल्ला अनुसन्धान प्रहरी प्रमुख, बेलडाँडी गाउँपालिका प्रमुख, वडा अध्यक्षहरू लगायतको टोलीले बेलडाँडी वडा नं.५,२, र १ नं. का हात्ती पीडितहरूलाई भेटेर हात्ती नियन्त्रणका लागि पहल भइरहेको बताउँदै तत्काल हात्ती भगाउनका लागि पटाका, आवाज निकाल्ने साधन बेलडाँडी रेञ्जर पोष्ट र बेलडाँडी इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराउने बताउनु भयो ।
स्थानीय नागरिकको जिउधनको सुरक्षाका निम्ति आफू कटिबद्ध रहेको प्रजिअ पाण्डेले बताउनुभयो । हात्तीले पुर्याएको क्षतिको बारेमा चिन्ता गर्दै तत्काल राहतको व्यवस्था मिलाउनका लागि पहल गर्ने बताउनुभयो । स्थानीयका पिडा सुन्दै तत्काल सो समस्या समाधान गर्नका लागि निकुञ्ज प्रमुखलाई आग्रह गर्नु भयो । अहिले टोली लालझाडी ढक्का शिविर तर्फ प्रस्थान भएको छ ।








प्रतिक्रिया राख्नुहोस्