तपाईँ सुन्दै हुनुहुन्छः

‘ओमिक्रोन भाइरस’ भित्रिन नदिन प्रदेश न १ मा पूर्व तयारी सुरु

विराटनगर । कोरोनाको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश न १ मा  पूर्व तयारी सुरु गरिएको छ  । 

प्रदेश न १ का सीमा जोडिएका नाकाहरूमा हेल्थ डेस्क राखेर भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरूको स्वास्थ्य चेकजाँच गर्नेदेखि प्रदेश न १ का १४ वटै जिल्लाका जिल्ला अस्पतालहरूमा आइसियु बेडको स्थापना तथा अक्सिजन प्लान्ट जडान गरिएको छ । 

प्रदेश न १ आन्तरिक तथा कानुन मन्त्रालयले विराटनगरमा आज सरोकारवालाहरुसँंग गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको तथा मेची, उदयपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा तथा तेह्रथुम जिल्लाका जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा  अस्पतालहरूका स्वास्थ्य उपकरणको प्रबन्ध मिलाइएको सहभागीहरूले जानकारी गराउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले खोप केन्द्रको दायरा बढाउँदै खोपको मात्रा बढाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

१२ वर्षमाथिका सबै समूहलाई खोप लगाउने तयारीमा प्रदेश सरकार रहेको  भन्नुहुँदै उहाँले विद्यालय तथा कलेजहरू सञ्चालन भइरहेकाले प्रत्येक विद्यालय तथा वडा वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने अभियानलाई तीव्र बनाउन आग्रह गर्नुभयो  । 

उहाँले होल्डिङ सेन्टर तथा प्रत्येक नाकामा हेल्थ डेस्क  सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताउनुभयो ।  

नेपाली सेना  दुई नम्बर बाहिनी इटहरीका बाहिनी पति प्रकाश देउजाले एक नम्बर प्रदेशमा सञ्चालित हेल्थ डेस्क लाई व्यवस्थित गर्दै सीमा नाकामा होल्डिङ सेन्टर बनाउने कामलाई तीव्रता दिनुपर्ने र त्यसका लागि नेपाली सेना सहयोगका लागि तत्पर रहेको उल्लेख गर्नुभयो । 

नेपाल प्रहरी १ नम्बर प्रदेशका प्रहरी प्रमुख अरुणकुमार बिसीले नेपाल भारतको मुख्य सीमा नाकामा स्वास्थ्य चेकजाँच बढाएर ओमिक्रोन नियन्त्रण गर्न सकिने बताउनुभयो ।  सीमा नाका भएर नेपाल प्रवेश गर्नेहरूको रेकर्ड राख्ने तथा एन्टीजेन परीक्षण बढाउनुपर्ने उहाँको भनाई थियो । 

सशस्त्र प्रहरी बल पकलीको बाहिनी पति कमल गिरीले भारतमा ओमिक्रोनको सङ्क्रमण बढेमा सीमा नाका भएर नेपाल भित्रिनेको सङ्ख्या एक्कासि बढ्ने भएकाले त्यसका लागि अहिले देखिनै तयारी तीव्र बनाउनुपर्ने । 

सशस्त्र प्रहरी अस्पतालका चिकित्सकहरू १४ जिल्लामा पुगेर सशस्त्र प्रहरीहरूलाई स्वास्थ्य सुरक्षाका बारेमा कक्षा सम्पन्न गरेको सुरक्षामा खटिएका सशर्त प्रहरीले सुरक्षाका मापदण्ड अपनाउन समेत नागरिकहरूलाई आग्रह गर्ने गरेको उहाँको भनाई थियो । 

मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले अनिवार्य मास्कको प्रयोग गर्ने तथा धेरै भिडभाड हुन नदिने गरी स्थानीय स्तरमा प्रशासनले सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री , स्वास्थ्य कार्यालय परिवार नियोजन शाखा अधिकृत कन्हैया साह तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साह लगायतले प्रदेश न १ मा कोभिड नियन्त्रण व्यवस्थापन तथा रोकथामका बारेमा भइरहेको कामको बारेमा जानकारी गराउनुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button