तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बलेवा । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । 

कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।

गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । 

सूचीकृत समूह वा सहकारीमा आबद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । “दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुन सक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ”, भट्टराईले भन्नुभयो, “यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौँ ।” 

कार्यक्रमका लागि जिल्लाभर रु ३० लाख परिचालन हुनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउने छ । 

समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उहाँ बताउनुहुन्छ । “च्याउ खेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ”, उहाँले भन्नुभयो, “मह, च्याउ, तरकारी र आवश्यक पोसिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।” 

यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घर खर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ ।

“सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्”, भट्टराई भन्नुहुन्छ, “सहयोगले परिवारमा कुपोषणका कारण आउन सक्ने ठूलो क्षतिलाई कम गर्छ ।”

कार्यक्रममा सहभागी हुनका लागि कार्यालयले आह्वान गरेको भए पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्‍याउन कठिन छ । समुदाय स्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । 

विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button