तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी सञ्चय कोषको आवास कर्जा क्षेत्र कार्यक्रम विस्तार

सुर्खेत । कर्मचारी सञ्चय कोषले सुर्खेतमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरूको सङ्ख्यामा वृद्धि भएपछि कोषले आफ्ना सेवाग्राहीको मागलाई ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो ।

कोषका अनुसार सुर्खेत प्रदेश राजधानी बनेपछि कोषका सञ्चयकर्ताले वीरेन्द्रनगर रिङरोड वरिपरिका क्षेत्रमा समेत आवास कर्जा कार्यक्रम विस्तार गर्न माग गरेपछि कोषले शैक्षिक सापटी, घर निर्माण सापटी, घर मर्मत सापटी, घर खरिद सापटी, जग्गा खरिद सापटी प्रयोजनार्थका लागि क्षेत्र विस्तार गरेको हो । 

कोष सुर्खेतका प्रमुख रामप्रसाद लामिछानेले आम सेवाग्राहीसँगै कर्मचारी संघ संगठनलगायतका सङ्घ संस्थाको मागलाई समेत ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको बताउनुभयो । उहाँले अब धुलियाविट चोकदेखि बाङ्गेसीमल रिङरोड, सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्र र दायाँतर्फ रत्नराजमार्गसम्मको क्षेत्र, भुरीगाउँ–तेलपानी सडकको फलाटेसम्मको दायाँ बायाँ तथा छिन्चुमा समेत मूल सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्रमा कर्जा विस्तार गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार कोषको केन्द्रीय कार्यालयले मङ्सिर २० गते गरेको निर्णयलाई सञ्चयकर्ता सापटी कार्यविधि २०७३ अनुसार माथि उल्लेखित क्षेत्रमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको हो । यता नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्णालीका सञ्चयकर्ताले माग गर्दै आइरहेको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तारले धेरै कर्मचारीलाई सुर्खेतमा घर बनाउन सहजता हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले आवास कर्जा कार्यक्रम सुर्खेतमा मात्र सीमित नराखेर कर्णालीका दश वटै जिल्लामा क्षेत्र विस्तार गर्न माग गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button