तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको तापक्रम घट्दो क्रममा

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । 

गत शुक्रवारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकासहित देशभरको अधिकतम तापक्रमसमेत दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको बताइएको छ । 

आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम चार दशमलव तीन डिग्री सेल्सियसमा झरेको छ । आइतबार उपत्यकाको तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस थियो । अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । 

हाल देशको प्रदेश नं १, २ का पूर्वी भूभाग र प्रदेश नं ५ का पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मङ्गलवार लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री र अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री  र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button