शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाँडौँ : ऊर्जा मन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।
ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

“सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पुँजी यसतर्फ लगाउनुपर्छ ।” साधारण सभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेस हुने र उक्त प्रस्ताव पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उहाँले भन्नुभयो, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”

एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उहाँले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गर्नुभयो ।
सरकारले यही मङ्सिर १ गतेदेखि लागू हुने गरी विद्युत्को महसुल घटाएको छ । त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ । “नेपाल आयल निगमले एलपी ग्यासमा रु ७५८ नोक्सान व्यहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढै छ”, मन्त्री भुसालले भन्नुभयो, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिऊँ, हामीले हाम्रो ठाउँबाट सिलिण्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याऔँ ।”

निगमले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक रु चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ । एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरेको छ । पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि आग्रह गर्नुभयो ।
सो सहकारी संस्थामा ९०२ पुरुष र ५२५ महिला गरी एक हजार ४२७ शेयर सदस्य रहेका छन् । सहकारीले आव २०७७/०७८ मा रु १० लाख ६६ हजार ५०० मुनाफा आर्जन गरेको थियो ।

सहकारीले गत आवमा रु सात लाख ८३ हजार ४०० ले शेयर पुँजी वृद्धि गरी रु एक करोड ४६ लाख ५४ हजार ३०० पुर्याएको छ ।
सो सहकारीले गत आवमा रु २९ करोड २५ लाख ९९ हजार ५७० निक्षेप सङ्कलन तथा रु १० करोड ३९ लाख ४० हजार ७२२ कर्जा प्रवाह गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्