काँग्रेस नेताहरूबिच छलफल चल्दै, मुख्य पदहरूमा उम्मेदवारको टुङ्गो लाग्न बाँकी
काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि अहिले पार्टीभित्र नेताहरू आ–आफ्नो समूहको उम्मेदवार चयन गर्न छलफलमा जुटिरहनुभएको छ ।
संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः सभापतिको उम्मेदवार बन्नुहुने भएको छ भने पदाधिकारी र सदस्यहरूको उम्मेदवारी क–कसले दिने भन्ने टुङ्गो लागिसकेको छैन ।
संस्थापन पक्षबाट पदाधिकारीको उम्मेदवार चयन गर्न आज बसेको त्यस पक्षको बैठकले पदाधिकारी उम्मेदवारका बारेमा टुङ्गो लगाउन नसके पनि त्यस पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहनेहरूको सूची तयार पार्न सम्बन्धित प्रदेशका नेताहरूलाई जिम्मेवारी दिएको छ ।
संस्थापन पक्षका नेता गोविन्द भट्टराईले दिनुभएको जानकारी अनुसार प्रदेश नं. १ मा केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहनेहरूको सूची तयार पार्न मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ भने प्रदेश नं. २ बाट रमेश रिजाल, बागमती प्रदेशबाट प्रकाश शरण महतलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी गण्डकी प्रदेश बाट गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशबाट बालकृष्ण खाँण कर्णाली प्रदेशबाट महामन्त्री पूर्णबहादुर खड्का र जीवनबहादुर शाही तथा सुदूर पश्चिम प्रदेश बाट एनपी साउद र रमेश लेखकलाई केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहनेहरूको सूची तयार पार्न जिम्मेवारी तोकिएको नेता भट्टराईले बताउनुभयो ।
जिम्मेवारी तोकिएका नेताहरूले प्रदेश सभापतिहरू तथा आकांक्षीहरुसंग परामर्श गरी सूची तयार पार्नुपर्ने छ ।
संस्थापन पक्षबाट पदाधिकारीमा उम्मेदवारहरूको नामावली चयन गर्न भोलि फेरी बैठक बस्ने छ ।
यसैगरी संस्थापन इतर पक्षबाट सभापतिको साझा उम्मेदवार चयन गर्न छलफल र परामर्श जारी रहे पनि निर्णयमा पुग्न भने बाँकी रहेको नेताहरूले बताउनुभएको छ ।
संस्थापन इतर पक्षबाट सभापति सहित पदाधिकारी र सदस्यहरूमा को–को उम्मेदवार हुने भन्नेबारे निर्णय हुन बाँकी रहेको र छलफल जारी नै रहेकाले छिट्टै निर्णयमा पुगिने नेपाली काँग्रेसका नेता बद्री पाण्डेले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको विधानमा १ सय ६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । त्यसमध्ये ३३ जना मनोनित हुनेछन् भने १ सय ३४ जना चुनावी प्रतिस्पर्धाबाट आउने व्यवस्था रहेको नेता अभिषेक प्रताप शाहले बताउनुभयो । १३४ मध्ये ३५ जना खुला केन्द्रीय सदस्य हुन्छन् भने बाँकी ९९ जना विभिन्न क्लस्टरबाट छानिने व्यवस्था रहेको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते शुक्रवार बाट सुरु हुँदै छ । मङ्सिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्