जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौंः मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफूहरू लागिपरेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागिपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलिया, कमैया र कमलरीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उद्देश्य रहेकाले आफूले मन्त्रालय सम्हालेपछि उनीहरूका पक्षमा काम शुरु गरिसकेको उल्लेख गर्नुभयो ।
संविधान मास्ने प्रतिगामी तत्त्वहरू अझै जीवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन अझै आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पत्तिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा व्यवस्था गरिसकिएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेका ३०० बढी कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहेकै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्