भोजपुरका सात स्थानीय तहमा सकियो माओवादी केन्द्रको अधिवेशन

भोजपुर । नेकपा(माओवादी केन्द्र) भोजपुरले जिल्लाका सात वटा स्थानीय तहको अधिवेशन सकेको छ भने दुई वटा स्थानीय तहको भने बाँकी राखेको छ ।
स्थानीय तहको अधिवेशन अन्तर्गत माओवादी केन्द्रले जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका बाहेक अन्य २ नगरपालिका र ५ वटा गाउँपालिकाको अधिवेशन सकेको हो ।
भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको अधिवेशन सम्पन्न भएको भोजपुर नगर कमिटीका सचिव राजन राईले जानकारी दिनुभयो ।
अधिवेशन अन्तर्गत दुई गाउँपालिकामा भने महिला अध्यक्ष बनाइएको छ । पूर्वी पौवादुङमा गाउँपालिकामा सम्झना राईको अध्यक्षतामा खडगराज तामाङ, राम दर्लामी मगर, अनिता राई उपाध्यक्ष, मुक्मिन राई सचिव, हर्क राई सहसचिव र रामु राई कोषाध्यक्ष सहित ५५ सदस्यीय गाउँ कमिटी बनेको हो । अध्यक्ष राई गाउँपालिका उपाध्यक्ष समेत हुनुहुन्छ ।
जिल्लाको रामप्रसाद राई गाउँपालिकामा पनि सम्झना राईको अध्यक्षतामा नयाँ गाउँ कमिटी बनेको छ । अध्यक्ष बन्नुभएकी राई रामप्रसादराई गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ । अधिवेशनबाट उपाध्यक्षमा बाबुराम बन्जारा, चन्द्र मगर, सुष्मा राई चुनिनुभएको छ भने सचिवमा सुरेश राई र सहसचिवमा सोमकुमार राई रहनुभएको छ ।
जिल्लाको उत्तर नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीको प्रथम अधिवेशनबाट यङ्गराज राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा बुद्ध सिंह तामाङ, गिता राई र योगराज न्यौपाने, सचिवमा राज विकास राई, सह–सचिवमा बद्री कार्की र कोषाध्यक्षमा विष्णु हिङमाङ् निर्वाचित हुनुभएको छ ।
त्यस्तै, जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका कमिटी अध्यक्षमा सङ्गम राई र साल्पासिलिछो गाउँपालिका अध्यक्षमा दल बहादुर गिरी निर्वाचित हुनुभएको छ ।
अधिवेशन हुन बाँकी गाउँपालिका मध्ये आमचोक गाउँपालिकाको मङ्सिर १७ र हतुवागढी गाउँपालिकाको पनि मङ्सिर १८ गते पालिका अधिवेशन गरिने नेकपा (माओवादी केन्द्र) भोजपुरका नगर सचिव राईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्