तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई थप एकताबद्ध बनाउन सभापति देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी अधिवेशनबाट पार्टीलाई थप एकताबद्ध बनाउन योगदान गर्न सबै नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । 

सुवर्ण शमशेर अध्ययन प्रतिष्ठानले प्रकाशित गरेको राजनेता सुवर्ण शमशेर पुस्तकको आज काठमाडौँमा विमोचन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पार्टी भित्रको मतभेद तथा निर्वाचनका बेला हुने अन्तर्घात अन्त्य गर्न सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । 

File Photo

प्रधानमन्त्री देउवाले अन्य पार्टीको आलोचनामा समय खर्चनुभन्दा आफ्नो पार्टी बलियो बनाउनेतर्फ ध्यान दिन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले पार्टीमा योग्यता र क्षमता अनुसार सबैले अवसर पाउने हुनाले अनावश्यक हतार नगरी प्राप्त जिम्मेवारीलाई इमानदार भएर पुरा गर्न युवा पुस्ताका नेताहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले पार्टीले समयमै उचित निर्णय लिन नसक्दा राष्ट्रिय राजनीतिलाई काँग्रेसले सही दिशा दिन चुकिरहेको बताउनुहुँदै आगामी अधिवेशनले पार्टीको निर्णय क्षमता सहितको नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक रूपान्तरणका लागि सबै राजनैतिक दलहरूबिच एकता र साझा धारणा निर्माण गर्न पार्टीले पहल गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button