बाढी प्रभावित ४० परिवारलाई जस्तापाता सहयोग
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–इन्द्रावती बाढीबाट पूर्ण रुपमा घर क्षति भएका मेलम्ची नगरपालिका वडा नं ११ का ४० परिवारलाई मङ्गलवार १२० बन्डल जस्तापाता प्रदान गरिएको छ ।
दोलखा जिल्ला, जिरी नगरपालिकामा रहेको असल मित्र नेपाल नामक संस्थाले जस्ता उपलब्ध गराएको हो । संस्थाले सी.एच.आई. र होप नामक संस्थाको आर्थिक सहयोगमा प्रति घर ३ बन्डल रङ्गिन जस्ता बाढी प्रभावितलाई वितरण गरेको हो ।

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टङ्कबहादुर जिरेलले यो सानो सहयोग भए पनि केही राहत मिल्ने बताउँदै वितरित सामग्रीको सदुपयोग हुनेमा विश्वस्त रहेको बताउनुभयो । जिरी–९ का वडाध्यक्ष ज्ञानबहादुर सुनुवारले जस्ताको पूर्ण रुपमा सदुपयोग गर्ने परिवारलाई आवश्यकता हेरी अन्य सहयोग गरिने बताउनुभयो ।
मेलम्ची–११ का वडाध्यक्ष रुद्र दुलालले सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको जस्ताले अस्थायी आवास निर्माणमा सहयोग पुग्ने बताउनुभयो । असल मित्र नेपालका बोर्ड सदस्य रुथ मुखियाले संस्थाले यस्तै सहयोगी सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्