बेमौसमी वर्षाका कारण चितवनमा धान उत्पादनमा कमी

चितवन । चितवनमा चालु आर्थिक वर्ष ०७८÷०७९ मा गत आर्थिक वर्ष ०७७÷०७८ को तुलनामा धान उत्पादनमा न्यून वृद्धि भएको छ । यस वर्ष उत्पादनमा अपेक्षित रूपमा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण धान उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र, चितवनले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ८२ हजार ९५५ मेट्रिक टन धान उत्पादन हुने भएको थियो भने गत आर्थिक वर्ष ०७७÷०७८ मा चितवनमा ८२ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७६, ०७७ मा ९४ हजार मेट्रिक धान उत्पादन भएको थियो ।
ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले यस वर्ष बेमौसमी वर्षाका कारण दाना लागेको र पाकेको धानमा १२ प्रतिशत धान क्षति हुँदा अपेक्षा अनुसार धान उत्पादनमा वृद्धि नभएको जानकारी दिनुभयो । ‘अहिले रोग किराको प्रकोप पनि कम थियो । उत्पादन र उत्पादकत्व पनि बढ्ने अपेक्षा थियो , प्रमुख पाण्डेले भन्नुभयो, तर बेमौसमी वर्षाले गर्दा कुल उत्पादनमा त्यति वृद्धि हुन सकेन । ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले गतबर्ष धानमा गवारो, फड्के, सिथ ब्लाईट लगायतका कारण १२ प्रतिशत उत्पादन घटेको र यसबर्ष पाकेको र काटेर सुकाइएको धानमा क्षति भएको कारण आशा गरेअनुसार उत्पादन हुन नसकेको बताउनु भयो । ‘पोहोरे साल रोगले १२ प्रतिशत धान उत्पादनमा ह्रास आयो । अहिले बेमौसमी वर्षा र बाढीले १२ प्रतिशत धानमा क्षति भयो ।’ उहाँले भन्नुभयो ।
चितवनमा लगाइएको धानमा यस वर्ष बाढी र वर्षाले क्षति भए पनि कुल उत्पादनमा भने ह्रास नआएको सूचना अधिकारी पौडेलको भनाई छ । उहाँका अनुसार धानको कुल उत्पादन अपेक्षित वृद्धि नभए पनि उत्पादकत्वमा भने वृद्धि भएको छ । जसअनुसार धान जोनमा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलव ५३ मेट्रिक टन रहेको छ भने, अन्य धानखेती योग्य जमिनको प्रतिहेक्टर ३ दशमलव ९ मेट्रिक टन उत्पादकत्व रहेको छ ।
चितवनमा धान जोन रत्ननगर नगरपालिका खैरहनी र राप्ती नगरपालिकाको पूर्व पश्चिम राजमार्ग देखि दक्षिण क्षेत्रमा पर्दछ । यहाँ ५ हजार ८२३ हेक्टर क्षेत्रफल धान जोन रहेको छ ।
चितवनमा २२ हजार हेक्टर हाराहारी बर्षे धान र ७ हजार पांँचसय हेक्टरमा चैते धान रोपाई गरिँदै आएको छ । यहाँ सावित्री,सांँवा मन्सुली , बहुगुणी र हर्दिनाथ–१ हाइब्रीड जातको धानको बीउ रोपिदैं आएको छ । यी मध्ये सबै भन्दा बढी उत्पादकत्व हर्दिनाथ–१ को रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्