तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस झापा सभापतिमा थेबे विजयी 

भद्रपुर, झापा । नेपाली काँग्रेस झापा सभापतिमा देउकुमार थेबे निर्वाचित हुनुभएको छ ।

कडा प्रतिस्पर्धाका बीच थेबेले सभापतिका अर्का उम्मेदवार रामबहादुर कट्टेललाई २५० मतान्तरले पराजित गर्नुभएको हो । थेबेले १७७५ मत ल्याउँदा कट्टेलले १५१५ मत प्राप्त गर्नुभयो ।

नयाँ नेतृत्वका लागि झापामा शुक्रवार निर्वाचन भएको थियो भने परिणाम सोमबार सार्वजनिक भएको हो ।

निर्वाचनबाट पदाधिकारीमा थेबे नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । थेबे कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट मानिनुहुन्छ भने कट्टेल पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकट मानिनुहुन्छ । निर्वाचनमा दुई वडा प्यानल नै खडा भएको थियो । 

त्यसैगरी थेबे प्यानलकै उपसभापतिमा केशवराज पाण्डे सर्वाधिक मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले १८८९ मत ल्याउनु भयो । अर्का उपसभापति पदका उम्मेदवार शेरबहादुर भट्टराई १६७४ मत ल्याई विजयी हुनुभयो । कट्टेल प्यानलका प्रेम सम्वाम्फे र शमशेर गिरी पराजित हुनुभयो ।

सचिवमा थेबे प्यानलकै नवीन विमली १८३८ र कृष्णप्रसाद हुमागाईँ १६७६ मत ल्याई निर्वाचित हुनुभयो भने उपसचिव पदमा थेबे पक्षकै कालेन्द्रप्रसाद राजवंशी १७६५ र कमलप्रसाद भण्डारी १६६० मत ल्याई विजयी बन्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button