चुनौतीरहित छैन लोकतन्त्र: सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताउनुभएको छ ।
नोभेम्बर २६ देखि स्पेनको म्याड्रीडमा जारी अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १४३औँ सभामा ‘लोकतन्त्रको समकालीन चूनौतिः विभाजनमाथि विजय र समुदाय निर्माण’ शीर्षकमा सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले अन्तर्राष्ट्रिय समुदायलाई सुदृढ बनाई विभाजनलाई जित्नका लागि हुने छलफलले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी समस्यालाई सम्बोधन गर्न सकिने बताउनुभयो ।
सूचना र सञ्चारको विस्तार पहिलेभन्दा आज धेरै सजिलो र व्यापक रूपमा पहुँचयोग्य रहेको तथा सामाजिक सञ्जालको अत्यधिक फैलावटले जो कोहीले पनि आफूले भन्न चाहेको कुरा सजिलैसँग अभिव्यक्त गर्न सक्ने भए पनि गलत सूचना फैलाउन समेत सजिलै प्रयोग भइरहेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
संसद् लोकतन्त्रको जीवित स्वरूप भएकाले जनताले शान्तिपूर्ण तरिकाले आफ्ना शासक परिवर्तन गर्न सक्ने सभामुख सापकोटाको कथन छ ।
लोकतन्त्रले काम गर्छ भन्ने जनतालाई विश्वास दिलाउने कार्यभार हामी सबैको भएको स्पष्ट पार्दै उहाँले लोकतान्त्रिक प्रक्रियामा संलग्नता बढाउनै पर्ने तथा विभाजन हटाउन कोही पनि पछाडि नछोडिने सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

पछिल्ला दुई वर्षमा आईपीयूका गतिविधि विश्वव्यापी महामारीका कारण प्रभावित भएको भए पनि कठिन समयमा पनि सक्रिय राख्न यसको सचिवालयको समर्पण र प्रयासको सभामुखले उच्च प्रशंसा गर्नुभयो । उहाँले स्पेनको संसद्लाई पनि सफलतापूर्वक यस सभाको आयोजना गरेकोमा बधाई दिनुभयो ।
सभामुख सापकोटाले विश्वव्यापी सम्मेलनमार्फत विचारको रचनात्मक आदानप्रदान र सृजनात्मक सङ्कल्प गरी आगामी दिनमा सँगै काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्