गरिबी र अभावकै बिचमा समाजवाद आउन सक्दैन: अर्थमन्त्री शर्मा

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावकै बिचमा समाजवाद आउन नसक्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताउनुभयो ।
गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन भन्नुहुँदै अर्थमन्त्री शर्माले मुलुकको समग्र र गुणस्तरीय विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो ।
अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै उहाँले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले हरेक पालिकाहरूमा कम्तीमा ५ सय युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्याइएको लगायतका दर्जनौँ जनमुखी कार्यक्रम वर्तमान सरकारले ल्याएको जानकारी दिनुभयो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य र सङ्गठन विभाग प्रमुख समेत रहनु भएका अर्थमन्त्री शर्माले देशमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्