अवैध दुई लाख अमेरिकी डलरसहित कास्कीमा एक जना पक्राउ

कास्की । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रवार पोखराबाट पक्राउ गरेको छ । अवैध रुपमा लिएर यात्रा गर्दै गर्दा कास्की प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँबाट पोखरा आउँदै गरेको माईक्रोबसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोक बस्ने ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङ रहेका छन् । प्रहरीले बरामद गरेको रकम अमेरिकी डलर दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।
मुस्ताङको चराङ ४ का छिरिङ डुन्डुक गुरुङको केही महिनाको ट्राभल हिस्ट्री हेर्दा काठमाडौँ जाँदा जहाज फर्कँदा सार्वजनिक सवारी साधन प्रयोग गर्ने गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनभयो ।
थापाले भन्नु भयो “हामीले गुरुङले ठुलो रकम बोकेर माइक्रो बसमा आउँदै गरेको सूचना पाएका थियो । पृथ्वी राजमार्गको पोखरा खण्डमा शुक्रवार दिउँसो साढे तीन बजेतिर पोखराको मझुवाबाट गुरुङलाई पक्राउ गर्न सफल भएका थियो । ”
माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा झोलामा जहाँ १ लाख ९४ हजार २ सय अमेरिकी डलर प्याकिङ गरेर राखिएको अवस्था पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।
उहाँले भन्नु भयो “प्रारम्भिक बयान लिँदा गुरुङले कहाँबाट यति धेरै डलर ल्याएको र कहाँ लैजान लागेको खुलाएका छैनन् तर अनुसन्धानमा खटिएका प्रहरीले सुन तस्करीका लागि उक्त डलर प्रयोग गर्न खोजिएको अनुमान गरेको छ । ”
पक्राउ परेका गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठमाडौँको जिम्मा लगाउने कास्की प्रहरीको तयारी छ । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन, २०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्