‘समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुन्छ’
रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताउनुभएको छ ।
शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्बर वडामा डेरी प्लान्ट (दूध उद्योग) को शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुने बताउनुभयो ।
स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनी लिमिटेडको २३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उद्योगको शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले कृषिमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग सफल साबित हुने बताउनुभयो ।
मन्त्री शर्माले हरेक किसानको घरमा उन्नत गाई भैँसी पालन हुने र उत्पादन भएको दूध प्रशोधन गरेर मुनाफा किसानलाई नै दिने बताउनुभयो ।
स्यार्पु पावर कम्पनीका प्रमुख प्रदीप ओलीले उद्योगमा प्रति दिन ४० हजार लिटर दूध प्रशोधन गरिने लक्ष्य राखेको बताउनुभयो ।
कम्पनीले ३६ हजार लिटर दूधको छुर्पी बनाएर विदेश निर्यात गरिने र चार हजार लिटरको फ्लेबर मिल्क बनाएर बजारीकरण गरिने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्