५ दलीय गठबन्धनले निर्वाचनसम्मै निरन्तरता पाउने : मन्त्री श्रेष्ठ

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
आज माओवादी केन्द्र मध्यपुरथिमी नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले गठबन्धनमा उत्पन्न हुन सक्ने असहमतिलाई छलफलबाट सहमतिमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।
गठबन्धन सरकारले साझा नीति कार्यक्रम बनाउँदै काम गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले ठाउँ पाउँदा संविधान विरोधी तत्त्व अगाडी आउन सक्ने तर्फ सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्नु सबैको दायित्व रहेको बताउँदै उहाँले संविधान र कानुनमा व्यवस्था भएका जनताका हक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो ।
मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिएको बताउनुभयो ।
उहाँले संविधानमा व्यवस्था भएको पैतृक सम्पत्तिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा निर्देशन जारी गरी सकिएको जानकारी दिनुभयो ।
भूमिहीनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उद्देश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालय सक्रियतापूर्वक लागेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरूबाट भएका राम्रा कामहरूलाई ग्रहण गरेर कामलाई छिटो पूर्णता दिने बताउनुभयो ।
मन्त्री श्रेष्ठले एक साताभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर कृषिको औद्योगीकरण र विविधीकरण गरेर व्यवसायीक कृषि र उत्पादनमा वृद्धिमा जोड दिइने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिलकृष्ण प्रजापति, सहईन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, जिल्ला संयोजक डीपी ढकाल, नेता कृष्णलाल गोजा श्रेष्ठ, नगर संयोजक विजय श्रेष्ठ, प्रदीप श्रेष्ठ लगायतले अधिवेशनको सफलताको कामना गर्नुभयो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्