तपाईँ सुन्दै हुनुहुन्छः

बुवाको सम्झनामा विद्यालयलाई निःशुल्क भवन


बझाङ। जिल्लाको केदारस्युँ गाँउपालीकामा रहेको शिक्षोदय माध्यमिक विद्यालय बागथलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साजन मल्लले आफ्नै खर्चमा चार कोठे पक्की भवन निर्माण गरी दिनुभएको छ । निर्माण गरिएको यो भवनलाई उहाँले स्वर्गीय बुबा मोहन बहादुर मल्लको स्मृतिमा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा भवनको अभाव भएको देखेपछि विद्यार्थीहरूको समस्या बुुझि विद्यालयका अध्यक्ष साजन मल्लले आफ्नै निजी लगानीमा झन्डै २५ लाख रकम खर्च गरी चार कोठे भवन निर्माण गर्नुभएको हो । विद्यालयमा शुक्रवार औपचारिक कार्यक्रमका गरी विद्यालयका अध्यक्ष साजन मल्ल र उहाँकी आमा इन्द्रीरादेवी मल्लले संयुक्त रुपमा भवनको ताला चाबी बुझाएर भवन हस्तान्तरण गर्नुभयो ।

विद्यालयका निमित्त प्रअ ध्रुव बहादुर कुँवरका अनुसार गत वर्ष विद्यालयका अध्यक्ष भएका साजन मल्लले विद्यार्थीलाई कक्षा कोठाको अभाव भएको देखेपछि आफ्ना बुबाको स्मृतिमा भवन बनाउने योजना बनाउनुभएको थियो ।

कक्षा एकदेखि बाह्रसम्म पढाइ हुने यस विद्यालयमा भवनको अभावले प्रावि तहका विद्यार्थीहरूलाई बस्न समस्या थियो । विद्यालयका निमित्त प्रअ ध्रुव बहादुर कुँवरले भन्नुभयो, ‘अध्यक्ष साजन मल्लले बुबाको सम्झनामा भवन निर्माण गरी दिएपछि हामी सबै खुसी भएका छौ ।’ भवन हस्तान्तरण सभामा विद्यालय अध्यक्ष साजन मल्लको सबैले उच्च प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button