अछाम काँग्रेसको जिल्ला अधिवेशन स्थगित

अछाम । आज हुने भनिएको नेपाली कांग्रेस अछामको महाधिवेशन स्थगित भएको छ ।
चौधौँ महाधिवेशनको सिलसिलामा अछाम क्षेत्र नम्बर १ मा मत गणनाका क्रममा विवाद भए पछि जिल्ला अधिवेशन नै स्थगित भएको हो ।
अछाम क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा मतगणनाको क्रममा १८ मत बढी भएको पाइएपछि मतगणना स्थगित गरिएको थियो ।
सोही कारण जिल्ला अधिवेशन स्थगित गरिएको र अर्को सूचना नभएसम्म स्थगित गरिएको कांग्रेस जिल्ला सचिव नम बहादुर शाहीले बताउनुभयो ।
क्षेत्रीय अधिवेशन के गर्ने भन्ने विषयमा सदरमुकाम मङ्गलसेनमा छलफल भइरहेको र छलफलबाट टुङ्गो लगाइने सचिव शाहीको भनाइ छ । जिल्ला अधिवेशन केही दिन सर्छ, क्षेत्रीय अधिवेशन तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी के हुने भन्ने विषयमा छलफल भइरहेको छ । सकेसम्म सहमति गर्छौँ सचिव शाहीले बताउनुभयो ।
मत परिणाम अनुसार शीर्ष नेता पराजित हुने देखिएपछि प्रक्रिया नै स्थगित गरिएको युवाहरूले आरोप लगाएका छन् । सुदूरपश्चिमको कैलाली जिल्लामा पनि आज अधिवेशन स्थगित भएको छ । कैलाली क्षेत्र नम्बर ४ को अधिवेशनमा विवाद भए पछि जिल्ला अधिवेशन स्थगित भएको बताइएको छ ।
आज दुई वटा निर्वाचन क्षेत्र भएका देशभरका ४१ जिल्लामा अधिवेशन हुने तय गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्