जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भिड
रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक सातायता सेवाग्राहीको भीड बढेको छ ।
नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको भीड रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक सातायता दैनिक करिब दुई सय सेवाग्राहीले सेवा लिइरहेका छन् ।
उहाँका अनुसार केही वर्षयता प्रशासन कार्यालयमा यसरी सेवाग्राहीको भिडभाड भएको थिएन ।
सेवाग्राहीको भिड बढेसँगै कर्मचारीहरूले कार्यालय समयभन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक सातायता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० वटा नागरिकताको प्रतिलिपि लिन आउनेहरूको तथ्याङ्क छ ।
त्यसैगरी, राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नाबालक सिफारिस लिन आउनेहरूको सङ्ख्या समेत बढिरहेको छ ।
चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत सर्वसाधारणहरू सेवा लिन आउने गरेकोले भिडभाड बढेको बताइएको छ ।
सर्वसाधारणहरूले पालिका स्तरमा घुम्ती शिविर र पायक पर्ने स्थानमा इलाका प्रशासन कार्यालय भएमा सेवा लिन सजिलो हुने बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्