तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयको क्यान्सर धामीले मन्साएर निको हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा लागेको क्यान्सर धामीले मन्साएर निको नहुने बताउनुभएको छ । 

राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँमा आज आयोजना गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले क्यान्सर लागेको न्यायालयमा अप्रेसनको आवश्यकता भएकाले धामीले मन्साएर निको नहुने टिप्पणी गर्नुभएको हो । 

अध्यक्ष ओलीले महाभारतका पात्र अस्वस्थमाले फालेको अस्त्र आफैलाई फर्किएको उदाहरण दिँदै अदालतले एमालेलाई हानेको ब्रम्हअस्त्र पाँच दलीय गठबन्धनलाई फर्केको आरोप लगाउनुभयो । 

अध्यक्ष ओलीले युवाहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गर्दै सूचना प्रविधिको दुरुपयोग गरी राजनीतिलाई विकृत बनाउने, राष्ट्रिय एकतालाई कमजोर पार्ने र समाजलाई विभाजित गर्ने प्रयासलाई साइबर सर्कलले रोक्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले विभिन्न पाटीमा रहेका देशभक्त, आधुनिक विचार भएका नेता कार्यकर्तालाई एमाले पाटीमा आई देश बनाउने अभियानमा सहभागी हुन समेत आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमालेको दशौँ महाधिवेशनले सही नीति र सही नेतृत्वका लागि अध्यक्षमा  केपी शर्मा ओलीलाई सर्वसम्मत स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

युवा सङ्घ नेपालले मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कन गठन गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button