तपाईँ सुन्दै हुनुहुन्छः

गाडीको ढोकामा झुन्डिएकी एक छात्राको लडेर मृत्यु

जनकपुरधाम । धनुषामा गुडिरहेको विंगरको गाडीको ढोकामा झुन्डिएकी छात्राको लडेर आज मृत्यु भएको छ ।

धनुषाको धारा पानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका वडा नं ७ भगवानपुरीकी वर्ष १९ की पूजाकुमारी महतोको आज बिहान ७ बजे लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा बेस्सरी चोट लागेकोले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छात्रा महतो कलेजबाट कुनै कामको लागि ढल्केबरतर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूजाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

विंगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । 

विंगर गाडी अत्यधिक गतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button