तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको विवाद चाँडो समाधान हुनु पर्दछ : अध्यक्ष नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले अदालत भित्रको विवाद समाधान गर्नका लागि दलहरूका बीचमा छलफल शुरु भएकोले चाडै समाधान हुने बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनकपुर विमान स्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नु हुँदै प्रधानमन्त्रीलाई समस्याको निकास निकाल्नका लागि आफूहरूले आग्रह गर्नु भएको बताउनु भयो ।

उहाँले अब अदालतको समस्या बढी दिनसम्म लम्बिन नहुने पक्षमा दलहरू भएको बताउनुभयो । अहिलेको विवादले न्यायालयको गरिमामा असर पर्ने काम भइरहेको अध्यक्ष नेपालले बताउँदै वार्ता एवं संवादको आधारमा समाधान हुनु पर्ने धारणा राख्नु भयो ।

एक प्रश्नको जवाफमा नेकपा एसका अध्यक्ष नेपालले पार्टीहरूको व्यस्तताका कारणले सरकारी नियुक्तिहरूमा ढिलाइ भएको स्वीकार गर्नु भयो ।

उहाँले राष्ट्रिय सभाको चुनावमा दलहरूले गठबन्धन गरेर नै चुनावमा जाने निश्चित भएको बताउँदै अहिलेको गठबन्धन अगामी सबै चुनावसम्म कायम नै रहनु पर्दछ भन्नु भयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले तीनै तहको चुनाव एक्कै पटक गराएर देशको अनावश्यक खर्चमा नियन्त्रण हुनु पर्ने पक्षमा रहेको बताउनु भयो ।

नेकपा एसका अध्यक्ष नेपाल पहिलो पटक जनकपुरधाम आउनु भएकाले कार्यकर्ताहरू ठूलो सङ्ख्यामा विमानस्थलमा उपस्थित भएका थिए । जुलुसले नगरको विभिन्न भागहरूको परिक्रमा गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button