तपाईँ सुन्दै हुनुहुन्छः

मेसिन बिग्रिदा गुठिचौरका चार गाउँ एक सातादेखि अन्धकार

गुठिचौर गाउँपालिका कार्यालय जुम्ला, तस्बिर : सागर परियार ।

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ कुम्डीमा रहेको नौमुले लघु जलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन् । गएको मङ्गलवार दिउँसो १ बजेदेखि विद्युत् गृहमा समस्या आउँदा उक्त वडाका चार गाउँ अन्धकार भएका भएका हुन् । नौमुले लघु जल विद्युतगृहमा जडान गरिएको फित्ता एक्कासि चुँडिएपछि विद्युत् उत्पादन बन्द हुँदा चार गाउँ अन्धकार भएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिनुभयो  । 

विगत एक हप्तादेखि उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य भएका छन् । गुठिचौर गाउँपालिका वडा नम्बर ५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका हुन । विद्युत् सप्लाइ गर्न अझै १ हप्ता लाग्ने गिरीले बताउनुभयो । 

फित्ता बाहिर बाट ल्याउनु पर्ने भएकोले पहल भइरहेको छ । उहाँले भन्नुभयो,“विद्युतको फित्ता आउने बित्तिकै सुचारु हुन्छ । गुठिचौर ५ नम्बर वडाका करिब ५ सय ५० घरधुरीका उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य छन् । हामी चाडै बत्ती बाल्ने गरी पहलमा जुटेका छौ  केही दिन यताबाट उपभोक्ताहरूले अन्य वैकल्पिक सोलार, टुकीमारा र स्थानीय वनजंगलमा पाइने झरो बाली उज्यालो गर्नु परेको  छ ।” 

फित्ता भारतबाट ल्याउनु पर्ने भएकोले आउन समय लाग्ने देखिएको छ । गुणस्तरीयताको फित्ता ल्याउनुपर्ने स्थानीयको माग छ । विद्युत् अवरोध भएपछि स्थानीयहरूलाई मोबाइल चार्ज गर्न, विद्यार्थीहरूलाई पढ्न,सरकारी कार्यालय,गैरसरकारी निकायहरूका कामकाज प्रभावित भएका छन् । भने रेडियो गुठिचौर तथा मिलहरू सञ्चालनमा समेत समस्या आएको गुठिचौर रेडियोका सञ्चारकर्मी रामप्रकाश विकले बताउनुभयो । 

बत्ती नआउँदा गाउँपालिकाका नियमित कामकाजमा समस्या भएको गुठिचौर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटाले बताउनुभयो । उहाँका अनुसार बत्ती नहुँदा सिफारिस देखि अन्य विद्युतीय काम रोकिएका छन् । चाडै मर्मतको काम गर्न अनुरोध गरेको उहाँको भनाई छ । 

२०६९ सालदेखि सञ्चालनमा आएको ७६ किलोवाटको नौमुले लघु जलविद्युत् आयोजनामा विगतमा बेला बेला समस्या आउने गरे पनि छिटै बत्ती बल्थ्यो । तर यस पाली भारतबाट फित्ता नआए सम्म बत्ती बाल्न सम्भव छैन । २०६९ सालमा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button