तपाईँ सुन्दै हुनुहुन्छः

जिसस र पालिकाको लगानीमा निर्मित खानेपानी आयोजना उद्घाटन

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुर र मकवानपुर गढी गाउँपालिकाको लगानीमा मकवानपुर गढी गाउँपालिका–३, टावर डाँडामा निर्मित खानेपानी आयोजना उद्घाटन गरिएको छ । 

जिससको मौज्दात कोषबाट ७५ र मकवानपुर गढी गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा निर्माण भएको खानेपानी आयोजनाको सोमबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले खानेपानीको निकै कठिन अवस्था रहेको उक्त स्थानमा अब समस्या नहुने बताउनुभयो । 

जिसस प्रमुख खुलालले गाउँपालिकाले आवश्यकताको आधारमा व्यवस्थित आयोजनाहरू सञ्चालन गरेको भन्नुहुँदै विकासका लागि स्थानीयवासीको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कुल १ करोड ६ लाख लागतमा निर्माण भएको उक्त आयोजना सम्पन्न भएको हो । १७ सय मिटर टाढाबाट लिफ्टीङ सिस्टमबाट टावर डाँडामा २ लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरेर २१६ परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेले व्यावसायिक रुपमा अगाडी बढ्न उक्त आयोजनाले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा टावर डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शत्रुधन दुलालले खानेपानी सञ्चालनमा आएपछि घण्टौँ हिँडेर खानेपानी ल्याउनु पर्ने समस्या समाधान भएको बताउनुभयो । 

कार्यक्रममा खानेपानीको ट्याङ्की निर्माणका लागि जग्गा दान गर्नुहुने विश्वनाथ रिमाल र रमणि प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button