श्रममन्त्री श्रेष्ठसँग र साउदी अरेबियाका राजदूत अल मार्वानीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भयो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्नुहुँदै नयाँ श्रम कानुनबाट नेपालीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रक्रियामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदूत अल मार्वानीसँग आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यान्वयनका लागि राजदूतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गर्नुभयो ।

नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ति साउदी अरेबियामा रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेबिया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिनुभयो ।
साउदी अरेबियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरू काम गर्न इच्छुक रहेको बताउनुभयो ।
राजदूत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताउनुभयो । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरूको समस्या सम्बोधन गर्ने उहाँले बताउनुभयो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्