तपाईँ सुन्दै हुनुहुन्छः

‘द्वन्द्व कालका कमी कमजोरी छानबिनका लागि प्रतिबद्ध छौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा घटेका घटनाको सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न, पीडितलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुर्‍याई मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको बताउनुभएको छ । 

बृहत् शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा आज एक सन्देश दिनुहुँदै उहाँले हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिप्रति गर्व गर्दै त्यस क्रममा भएका कमीकमजोरीको छानबिन गरी सार्वजनिक गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

File Photo

अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवार, घाइते विस्थापित लगायतको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुर्‍याउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । 

शान्ति प्रक्रियाका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिनुहुँदै उहाँले नेपाली समाजमा रहेका समस्याहरू क्रमशः समाधानको दिशामा जाने विश्वास समेत व्यक्त गर्नुभएको छ । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button