मुस्ताङमा स्याउ उत्पादन करिब ९ प्रतिशतले बढ्यो
मुस्ताङ । मुस्ताङ जिल्लामा यस वर्ष स्याउको उत्पादन करिब ९ प्रतिशतले बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा यस बर्ष नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिक टन स्याउ फलेको जानकारी दिनुभयो ।
क्षेत्रफल विस्तार र अनुकूल मौसमका कारण स्याउ उत्पादन बढेको हो । मुस्ताङमा पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिएका छन् ।

मुस्ताङमा स्याउ बेचेर कृषकले यस बर्ष ५५ करोड भित्र्याएका छन् । मुस्ताङमा यो सिजनमा स्याउ प्रतिकिलो १०० का दरले बिक्री भएको थियो ।
मुस्ताङको एक हजार ४४० हेक्टरमा खेती भएकामा ५२० हेक्टरका स्याउका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो ।
यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैँचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको जनाएका छन् ।
मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्