क्रियाशील दलित पत्रकार सङ्घले मनायो स्थापना दिवस
काठमाडौँ । दलित समुदायका पत्रकारको छाता सङ्गठन क्रियाशील दलित पत्रकार सङ्घ (आडजोन)ले तीन वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाएको छ ।
२०७६ साल मङ्सिर ३ गते स्थापना भएको सङ्घले दुई वर्ष पुरा गरेर तीन वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो वेबसाइट पनि सार्वजनिक गरेको छ ।
www.aadjon.org डोमेन रहेको वेबसाइट शुक्रवार एक कार्यक्रमका बिच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
वेबसाइटमा संस्थाले गरेका गतिविधि रहने संघका महासचिव विश्वास खड्काथोकीले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विश्वकर्माले सङ्घलाई शुभकामना दिँदै क्रियाशील दलित पत्रकार सङ्घ एक सक्रिय र निरन्तर पत्रकारिता गरिरहने पत्रकारको संस्था भएकाले आयोग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्घलाई स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रेस काउन्सिल आगामी दिनमा सङ्घसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । काउन्सिलले सङ्घसँग विभिन्न खालका अनुसन्धानमूलक काममा सहकार्य गर्न सक्ने बस्नेतको भनाइ छ ।
सङ्घले स्थापनाको तीन वर्षमा सात वटै प्रदेशमा प्रदेश समिति र केही जिल्लामा जिल्ला समिति पनि गठन गरिसकेको छ ।
संस्था स्थापना भए लगत्तै कोरोना महामारी फैलिएकाले केही गतिविधि कम भए पनि अब सङ्घले सङ्गठन बिस्तारलाई निरन्तरता दिने संघका अध्यक्ष पवित्रा सुनारले बताउनुभयो ।
कार्यक्रममा लेखक तथा वरिष्ठ पत्रकार हिरा विश्वकर्माले नेपालमा दलित पत्रकारको अवस्था र यसको विकासका लागि चाल्नुपर्ने कदमका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्