तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने’

काठमाडौँ । अनलाइन र युट्युबका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । 

छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय विज्ञहरूको छ ।

अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधान सम्पादक अमित ढकालले “काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नै पर्छ ।” भन्नुभयो ।

उहाँले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राख्नुभयो ।

“राज्यका नियामक निकायमा दर्ता हुने अनि बेथिति साथ सञ्चारमाध्यम चलाउनेमाथि काउन्सिलले के गर्दै आएको छ ?” भन्दै ढकालको प्रश्न गर्नुभयो ।

अनलाइन खबर डट कमका प्रधान सम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापा र रातो पाटी डट कमका प्रधान सम्पादक अरुण बरालसहितले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राख्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका अनलाइन खबर डट कमका प्रधान सम्पादक शिव गाउँलेले काउन्सिलले अन्य सामाजिक सञ्जालभन्दा अनलाइनमा केन्द्रित भई नियमन गर्न सुझाउनुभयो ।

“अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्दै हुने नियमनले मिडिया प्रभावकारी हुन्छ । काउन्सिल थप प्रभावकारी हुन्छ”, उहाँले भन्नुभयो । 

बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधानले आचारसंहिता पालना गर्ने र नगर्ने सञ्चारकर्मीको फरक काउन्सिलले छुट्याउनुपर्ने धारणा राख्नुभयो ।

इकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतैले गरेको गल्ती हो कि मानवीय त्रुटि छुट्याउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

रातो पाटी डट कमका प्रधान सम्पादक अरुण बरालले काउन्सिललाई अझै सञ्चारमैत्री बन्न र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न सुझाव दिनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय अनलाइनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिँदै भन्नुभयो–“काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन काउन्सिलको वर्तमान टिम सोच–विचारका साथ लागिरहेको छ ।”

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल, उप प्रशासकीय अधिकृत (आचारसंहिता, अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख) रामशरण बोहरासहितले पछिल्ला दिन काउन्सिलमा भइरहेका काम उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button