जबर्जस्ती करणीबाट महिलाको मृत्यु भएको अभियोगमा दुई पक्राउ
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा जबर्जस्ती करणीबाट महिलाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियाका ४२ वर्षीय मनोजकुमार यादव र उनका साथी भङ्गाहा–५ सीतापुरका २४ वर्षीय विपीन मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले घटना भएको दुई महिनापछि बुधबार अपराह्न ४ बजे उनीहरूलाई पक्राउ गरेको हो ।
गत असोज १३ गते राति ११ बजे भङ्गहा–२ बखरी टोलका श्याम सदाकी पत्नी ३५ वर्षीया अमृता सदालाई करणी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगत दुई वर्षअगाडिदेखि नै अमृता र मनोजबीच चिनजान थियो । १३ असोज राति मनोज आफ्ना साथी विपीनलाई ज.९ प ५१५८ नम्बरको मोटरसाकलमा अमृतालाई भेट्न आएका थिए । अमृताको घरअगाडि मोटरसाइकल रोकर उनलाई फोन गरे बाहिर निस्कन आग्रह गरे । अमृता बाहिर निस्किएपछि उनलाई मोटरसाइकलमा चढाएर बखरी गाउँदेखि उत्तरको चौरीमा लगेर दुवै जनाले पालैपालो करणी गरेको प्रहरीले जनाएको छ । बेहोस भएपछि अमृतालाई बिहान ३ बजेतिर मोटरसाइकलमा राखी उनको घर नजिकको सडकमा छोडेर सोही दिनदेखि फरार भएका थिए । परिवारले थाहा पाएर उनलाई उपचारका लागि स्थानीय मेडिकल हुँदै प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएका थिए । उपचारका क्रममा उनको १४ गते राति ११ बजे मृत्यु भएको थियो ।
यता, अभियुक्तको खोजतलासमा खटिएको महोत्तरी प्रहरीले विपीनलाई उनकै गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । यस्तै, यादवलाई बुधबार साँझ साढे ५ बजे सिरहाको मिर्चैया नगरपालिका–५ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी विष्टले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूउपर जबरजस्र्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्