‘कांग्रेस स्वतन्त्र न्यायपालिकाको अवधारणमा अटल छ’
डोटी । पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले न्यायालयभित्र देखिएको विवाद न्यायपालिकाले नै समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाद्वारा दिपायलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कांग्रेस कानुनी राज्य तथा विधि पद्धति अनुसार चल्ने पार्टी भएकाले न्यायालय भित्रको विवादमा आफ्नो पार्टी नफस्ने बताउनुभयो ।
उहाँले कांग्रेस स्वतन्त्र न्यायपालिकाको अवधारणामा सदैव अटल रहेको पनि बताउनुभयो ।
नेता बलायरले अब निर्धारित समयमा महाधिवेशन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
महाधिवेशनले काँग्रेसको आन्तरिक जीवनमा नयाँ ऊर्जा थप्ने विश्वास गर्दै नेता बलायरले साथै त्यसले देशको उन्नत भविष्यमा समेत नवीन ओज थप्ने बताउनुभयो ।
एमसीसी परियोजना देशको हितमा रहेकाले यसको अनुमोदन गर्न अब ढिलाइ गर्न नहुने बताउँदै उहाँले कांग्रेस एक्लैले चाहेर मात्र अनुमोदन गर्न नसकिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्द विष्टले कांग्रेस नेतृत्वको वर्तमान सरकार जनताका तत्काल र दीर्घकालीन समस्याहरूलाई आवश्यकताका आधारमा सम्बोधन गरेर अघि बढिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्