ट्राफिकलाई घुस दिने ट्रक चालक पक्राउ

सुर्खेत । ट्राफिक प्रहरीलाई पचास रुपैयाँ घुस दिने ट्रक ड्राइभरलाई संयुक्त अनुगमन टोलीले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय सुर्खेतको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीलाई घुस दिने प्रदेश–२–०३००१ख–३२४२ नम्बरको ट्रकका चालक वकिल बुढालाई आज पक्राउ गरेको हो ।

कागजपत्र नभएको ट्रकलाई छाड्न भन्दै चालकले ट्राफिक प्रहरीलाई पचास रुपैयाँ घुस दिएपछि संयुक्त अनुगमन टोलीले एक घण्टा नियन्त्रणमा लिएको थियो ।
अब यस्तो गल्ती नदोहर्याउने सर्तसहितको कागज गरेपछि ३ हजार रुपैयाँ जरिवाना गराएर चालक र ट्रकलाई छोडिएको यातायात व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्