तपाईँ सुन्दै हुनुहुन्छः

तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न आग्रह

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ ।

विभागले आज विज्ञप्ति जारी गरी कर्मचारीको जिउ ज्यानमा खतरा हुने कुनै पनि  किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्ण पालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो । 

यही कात्तिक २५ बाट सुरु भएको र आगामी मङ्सिर ९ गते समापन हुने जनगणनामा केही व्यक्ति तथा संस्थाबाट व्यक्त स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्याङ्क प्राप्त गर्न नसकिने भन्ने खालका विचार तथा केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णय अनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयमा विभागले ध्यानाकर्षण भएको जनाएको हो ।

file photo

जनगणना प्रश्नावलीलाई अन्तिम रूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय/सङ्घसंस्था र विषय विज्ञसँग पटक पटक छलफल गरिएको र प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिने कार्य भएको विभागले जनाएको छ । 

प्रश्नावली निर्माण लगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्याससमेत अवलम्बन गरिएको र तथ्याङ्क ऐन २०१५ बमोजिम स्थापित सो विभाग तथ्याङ्क सङ्कलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने विभागको भनाइ छ । 

यथार्थभन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णयअनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्याङ्क सङ्कलन गर्न नसकिने विभागले स्पष्ट पारेको छ । तथ्याङ्क सङ्कलन कार्यका लागि देशैभर करिब चालीस हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक खटाइएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button