राष्ट्रिय महिला क्रिकेट टोलीद्वारा कतार पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मङ्गलवार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।
कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर र सिता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिइन् । यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
महिला टोलीको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय कीर्तिमानी योगफल हो । नेपालका लागि इन्दु वर्माले अर्ध शतकीय इनिङ्स खेलिन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्ध शतक हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्ध शतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।
यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।
सिरिज अन्तर्गत अब नेपालले कतारसँग मङ्सिर १ मा दोस्रो र मङ्सिर २ गते तेस्रो खेल खेल्नेछ । विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्