बन्द कर्ता र प्रहरीले बनाए जेब्रा क्रस
सल्यान । पेट्रोलियम पदार्थ मूल्य वृद्धिका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्गलवार नेपाल बन्दको आह्वान गर्यो ।
प्राय बन्दमा बन्द कर्ता र प्रहरीको लुकीछिपी, तोडफोड, आगजनी हुने गर्छ । तर मङ्गलवार सल्यानमा नेपाल बन्दको स्वरूप भने केही भिन्न देखियो ।
सडकमा देखिएका बन्द कर्ता र प्रहरी भने सडकमा जेब्रा क्रसिङ बनाउन व्यस्त देखिन्थे । बन्दको क्रममा उनीहरू दिनभर सडकमा ट्राफिक चिन्हको व्यवस्थापनमा जुटेका थिए ।

दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन र राजनीतिक कार्यकर्ताहरू असल कार्यकर्ता हुन भन्ने कुराको पुष्टि गर्न रचनात्मक कार्य गरी बन्द सफल बनाएको नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सविन पोखरेलले बताए ।
बन्द हडताल भन्ने बित्तिकै तोडफोड, धरपकड, आन्दोलन नै गर्नुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न पनि रचनात्मक कार्यमा लागेको पोखरेलको भनाई छ । मूल्यवृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाइएको उनको भनाई छ ।
बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्ट समेत दीर्घकालीन हुने भएकाले जेव्राक्रसिङ निर्माण गरिएको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्