नव उद्यमीलाई विनाधितो ऋण सहयोग

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले उद्यमी बन्न चाहनेहरूका लागि विनाधितो ऋण सहयोग कार्यक्रम ल्याएको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका बेरोजगार महिला, पुरुषलाई नव उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले विनाधितो ऋण सहयोग कार्यक्रम ल्याएको हो ।
पालिका भित्रका महिला, पुरुषलाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँसम्म ऋण सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बेरोजगारलाई विनाधितो ऋण सहयोग उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौताका लागि अन्तिम तयारी रहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाको सिफारिसमा बैङ्कमार्फत उद्यम गर्ने चाहना भएका महिला, पुरुषलाई ऋण सहयोग उपलब्ध हुने जनाउनु भयो । उहाँका अनुसार आयआर्जन लिने गरी केही व्यवसाय एवं उद्यम गर्ने सोच बनाएका महिला, पुरुषलाई ऋण सहयोग उपलब्ध गराइने छ ।
‘बैङ्कले गाउँपालिकाको सिफारिसमा विनाधितो ५० हजारदेखि १५ लाखसम्म ऋण उपलब्ध गराउने छ,’ उहाँले भन्नु भयो, ‘गाउँपालिकाबाट सिफारिस भएको १० दिनभित्र उद्यमीलाई ऋण उपलब्ध गराइनेछ ।’ उहाँले आउँदो महिनादेखि विनाधितो ऋणका लागि चौकुने गाउँपालिकाले बैङ्कलाई सिफारिस गरी पठाउने बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगनसिंह पाण्डेले पालिकाका तर्फबाट आवश्यक सबै कागजात राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा पुर्याई सकिएकाले छिट्टै शाखा कार्यालय विद्यापुरबाट विनाधितो ऋण प्रवाह हुने अपेक्षा व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्