हत्या आरोपमा पाँच जना पक्राउ
झापा । झापाको गौरा दहका एक व्यक्तिको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
गौरा दह नगरपालिका, वडा नं ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत कार्तिक ११ गतेदेखि हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो छिटाहरू देखिएपछि हुसेनको हत्या भएको हुनसक्ने आशङ्कामा सद्दामको घर खानतलासी गर्दा सेप्टी ट्याङ्कीभित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेका थिए । घटनास्थलबाट घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) फेला परेका थिए ।
सोही आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको र पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्